काठमाडौं — नेपाली कांग्रेस को आधिकारिकता विवादमा सर्वोच्च अदालत ले निर्णय दिएपछि पार्टीभित्र नयाँ राजनीतिक हलचल देखिएको छ। निर्णयपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का आफ्ना पक्षधर शीर्ष नेतासँग छलफलमा जुटेका छन्।
खड्काले गोल्फुटारस्थित आफ्नै निवासमा पूर्वपदाधिकारी, निवर्तमान केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाएर बैठक गरिरहेका छन्। बैठकमा विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायत नेताहरू सहभागी छन्। साथै एनपी साउद, मीन विश्वकर्मा र रमेश लेखकसहित अन्य केन्द्रीय सदस्यहरूको पनि उपस्थिति रहेको स्रोतले जनाएको छ।
यद्यपि शेखर कोइराला र उनका पक्षधर नेताहरू भने उक्त बैठकमा सहभागी नभएको जनाइएको छ, जसले पार्टीभित्रको धार स्पष्ट रूपमा विभाजित रहेको संकेत गरेको छ।
यसअघि सर्वोच्च अदालतले निर्वाचन आयोग ले विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई दिएको आधिकारिकता कायम रहने फैसला गरेको थियो। उक्त निर्णयविरुद्ध शेरबहादुर देउवा र खड्काले रिट दायर गरेका थिए।
सर्वोच्चको फैसला आफ्नो विपक्षमा आएपछि खड्का समूहले त्यसलाई अनपेक्षित भन्दै आन्तरिक परामर्श तीव्र बनाएको छ। स्रोतका अनुसार, जारी बैठकपछि आइतबार औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ, जसले कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारणमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ।
