नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन सम्पन्न भएको दुई महिनापछि आज पहिलो पटक रुकुमपूर्व जान लाग्नुभएको छ। गत फागुन २२ गते निर्वाचन जितेलगत्तै हेलिकप्टरमार्फत काठमाडौँ फर्कनुभएका प्रचण्ड त्यसयता पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुग्न लाग्नुभएको हो। जिल्ला पार्टी संयोजक कुमारी बरालका अनुसार प्रचण्ड आज बिहान १० बजे रुकुमकोट पुग्ने कार्यक्रम तय भएको छ। हाल छिमेकी जिल्ला रुकुम पश्चिममा रहनुभएका उहाँ त्यहाँबाट सिधै रुकुमपूर्व पुगेर पुनः फर्कनुहुनेछ।
प्रचण्डको यो भ्रमण मुख्यतयः चुनावी समीक्षा बैठकमा केन्द्रित रहने बताइएको छ। निर्वाचनका दौरान जनताको घरदैलोमा पुगेर विकास, समृद्धि, सडक सञ्जाल, रोजगारी र आधारभूत परिवर्तनका ठूला प्रतिबद्धताहरू व्यक्त गर्नुभएका प्रचण्ड विजयी भएपछि राजधानीको राजनीतिक व्यस्ततामा रहनुभएको थियो। लामो समयपछि जिल्ला फर्कन लाग्नुभएकाले उहाँको यस भ्रमणलाई स्थानीय नेता तथा कार्यकर्ताहरूले महत्त्वका साथ हेरेका छन्।
यद्यपि, स्थानीय मतदाताहरूले भने प्रचण्डको यो भ्रमणलाई केवल औपचारिक राजनीतिक बैठक र समीक्षामा मात्र सीमित नहोओस् भन्ने चाहना राखेका छन्। जिल्लावासीहरूले निर्वाचनका बेला गरिएका विकासका बाचाहरूको कार्यान्वयन र यहाँको वास्तविक समस्या जस्तै सडक, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासमा ठोस योजना आउने अपेक्षा गरेका छन्। चुनावी प्रतिबद्धताहरूको परीक्षणका रूपमा हेरिएको यस भ्रमणले जिल्लाको समग्र विकासमा कस्तो प्रभाव पार्छ भन्नेमा नागरिकहरूको चासो र प्रतीक्षा रहेको छ।
