काठमाडौँ । अघिल्लो शनिबार र आइतबार थापाथली तथा गैरीगाउँका नदी किनारका अनधिकृत बस्तीमा डोजर चलाइएपछि विस्थापित भएका सुकुमबासीहरू हाल कीर्तिपुरस्थित सुन्दरीघाटमा रहेको राधास्वामी सत्सङ्ग केन्द्रमा आश्रय लिइरहेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गरेको ‘स्क्रिनिङ’पछि उनीहरूलाई अस्थायी व्यवस्थापनका लागि उक्त स्थानमा सारिएको हो।
रातोपाटीको टोली आइतबार सुन्दरीघाट पुग्दा सुरक्षाकर्मीको कडा उपस्थिति देखिएको थियो। सुरुमा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइए पनि पछि अवस्थाको अवलोकनका लागि क्यामेरा र माइक बाहिरै राखेर भित्र जान अनुमति दिइएको थियो। भित्रको दृश्य अत्यन्तै अन्योलपूर्ण र भावुक देखिएको रिपोर्टमा उल्लेख छ।
हाल राधास्वामी सत्सङ्ग केन्द्रमा ७६ जना महिला, ६० जना पुरुष, ३० जना बालक र २९ जना बालिका गरी कुल १९५ जना आश्रित छन्। विस्थापनको क्रममा उनीहरूले पालेका ८ वटा कुकुर र १ बिरालो समेत साथमा ल्याएको र ती पनि त्यहीँ राखिएको छ।
महानगरपालिकाको स्वास्थ्य विभागले त्यहाँ नियमित स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। आइतबार आँखा अस्पतालको टोलीसँगको सहकार्यमा गरिएको परीक्षणमा धेरैमा उच्च रक्तचाप र मधुमेह देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
एक २४ वर्षीया युवतीमा समेत १७०/१०५ सम्मको रक्तचाप देखिएपछि उनलाई थप उपचारका लागि अस्पताल पठाइएको छ। बालबालिकामा भने अचानक परिवार, विद्यालय र समुदायबाट छुट्टिनुपर्दा मानसिक तनाव देखिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
खानपान व्यवस्थापन हाल राधास्वामी सत्सङ्ग केन्द्रले सम्हालेको छ। बिहान चिया–बिस्कुट, साढे १० बजे दाल–भात र तरकारी, दिउँसो खाजा तथा बेलुका खाना खुवाउने तालिका बनाइएको छ।
आश्रयस्थलमा रहेका महिलाहरूले तत्काल गाँस र बासको व्यवस्था भए पनि भविष्यप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, “अहिले त बस्न र खान दिइएको छ, तर कहिलेसम्म यस्तो अवस्थामा बस्ने, बच्चाहरूको स्कुल र भविष्य के हुने?” भन्ने प्रश्न उठेको छ।
