अमेरिकी सेनाको ‘सदर्न कमान्ड’ ले क्यारेबियन समुन्द्री क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न एक जहाजमाथि भीषण सैन्य आक्रमण गरेको छ। ‘जोइन्ट टास्क फोर्स सदर्न स्पियर’ द्वारा सोमबार गरिएको उक्त कारबाहीमा दुई जना ‘नार्को–आतंककारी’ मारिएको सैन्य कमान्डले पुष्टि गरेको छ। सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै कमान्डले उक्त जहाज एक ‘सूचीकृत आतंकवादी संगठन’ द्वारा सञ्चालन गरिएको र गुप्तचरी सूचनाका आधारमा त्यसलाई निसाना बनाइएको बताएको छ। विशेष गरी क्यारेबियन क्षेत्रमा लागुऔषध ओसारपसारका लागि प्रयोग हुने निश्चित मार्गहरूमा उक्त जहाज सक्रिय रहेको पुष्टि भएपछि सेनाले घातक प्रहार गरेको हो।
कमाण्डले सार्वजनिक गरेको कारबाहीको भिडियोमा ’नाइट भिजन’ प्रविधिको प्रयोग गरी जहाजलाई सटिक निसाना बनाइएको देखिन्छ। मारिएका दुवै व्यक्तिहरू लागुऔषध तस्करी र आतंकवादी गतिविधिमा प्रत्यक्ष संलग्न रहेको अमेरिकी दाबी छ। पछिल्लो समय अमेरिकी सेनाले क्यारेबियन क्षेत्रमा बढ्दो लागुऔषध तस्करी र आपराधिक सञ्जाललाई निरुत्साहित गर्न आफ्नो सक्रियता र निगरानीलाई तीव्र पारेको छ। यस कारबाहीलाई सोही रणनीतिक सक्रियताको एक हिस्साको रूपमा हेरिएको छ।
