स्ट्रेट अफ होर्मुजलाई लिएर अमेरिकासँगको तनाव चरम बिन्दुमा पुगेका बेला इरानी विदेशमन्त्री अब्बास अरगाची र चिनियाँ विदेशमन्त्री वाङ यीबिच बेइजिङमा महत्त्वपूर्ण भेटवार्ता भएको छ। आगामी मे १४ र १५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुन लागेको ऐतिहासिक शिखर सम्मेलनको ठीक एक हप्ताअघि भएको यो बैठकलाई विश्व राजनीतिमा निकै चासोका साथ हेरिएको छ। गत फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएयता इरानी विदेशमन्त्रीको यो पहिलो चीन भ्रमण हो।
बैठकका क्रममा विदेशमन्त्री अरगाचीले चीन इरानको भरपर्दो मित्र भएको उल्लेख गर्दै वर्तमान संकटपूर्ण घडीमा दुई देशबीचको सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो। इरानी समाचार एजेन्सी आईएसएनएका अनुसार अरगाचीले अमेरिकासँगको सम्भावित वार्तामा इरानले आफ्नो वैध अधिकार र हितको रक्षा गर्ने बताउँदै केवल निष्पक्ष र बृहत् सम्झौता मात्र स्वीकार गर्ने स्पष्ट पार्नुभएको छ। यता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने बेइजिङलाई इरानमाथि दबाब बढाउन र विश्वकै महत्त्वपूर्ण ऊर्जा मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा लगाइएको अवरोध हटाउन पहल गर्न आग्रह गर्नुभएको छ।
विश्वको कुल तेल र ग्यास आपूर्तिको २० प्रतिशत हिस्सा ओगट्ने होर्मुज जलमार्ग इरानले बन्द गरेपछि विश्वभर इन्धन र रासायनिक मलको मूल्य आकाशिएको छ भने विश्वव्यापी आर्थिक मन्दीको त्रास बढेको छ। यसैबीच, अमेरिकाले इरानी तेल खरिद गरेको आरोपमा चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ भने चीनले त्यसको कडा प्रतिवाद गर्दै आफ्ना कम्पनीहरूलाई अमेरिकी प्रतिबन्ध पालना नगर्न निर्देशन दिएको छ। बेइजिङमा भएको यो भेटमा चीनले इरानी बन्दरगाहमा अमेरिकी नौसैनिक नाकाबन्दीको आलोचना गरे पनि होर्मुज जलमार्ग बन्द गर्ने इरानको निर्णयप्रति असन्तुष्टि जनाएको बुझिएको छ। इरानले यो भ्रमणमार्फत ट्रम्प र सीको भेटमा इरानको मुद्दा कसरी प्रस्तुत हुन्छ भन्ने स्पष्टता खोजेको छ भने चीनले शिखर सम्मेलनअघि इरानबाट कुनै उत्तेजक कदम नचालियोस् भन्ने चाहेको छ।
