अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई महिनाभन्दा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने विषयमा पछिल्लो २४ घण्टामा निकै सकारात्मक वार्ता भएको बताएका छन्।
ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले इरान सम्झौताका लागि निकै आतुर रहेको दाबी गरे। उनले भने, “उनीहरू सम्झौता गर्न चाहन्छन्। पछिल्लो २४ घण्टामा हाम्रो निकै राम्रो कुराकानी भएको छ र सहमति हुने बलियो सम्भावना देखिएको छ।”
यसै क्रममा ट्रम्पले गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको हवाई आक्रमणबाट इरानमा ठूलो क्षति पुगेको उल्लेख गरे। उनले अमेरिका अहिले पछि हटेमा इरानलाई उक्त क्षतिको पुनर्निर्माण गर्न कम्तीमा २० वर्ष लाग्ने चेतावनीसमेत दिए।
इरान र अमेरिकाबीचको तनाव कम गर्ने उद्देश्यले वार्ता जारी रहेको बुझिएको छ। ट्रम्पका अनुसार इरान पक्ष पनि वार्तामार्फत समाधान खोज्न सकारात्मक देखिएको छ।
