परराष्ट्रमन्त्री शिशिर खनाल ले नेपालको परराष्ट्र नीतिलाई समयसापेक्ष, वस्तुपरक र प्रभावकारी बनाउन प्राज्ञिक अनुसन्धान र बौद्धिक बहसको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ।
नेपाल काउन्सिल अफ वल्र्ड अफेयर्स (एनसीडब्लुए) को वार्षिकोत्सव कार्यक्रममा उहाँले परराष्ट्र नीति अब उच्चस्तरीय भ्रमण र सन्धि–सम्झौतामा मात्र सीमित नरहेको उल्लेख गर्नुभयो।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा, डिजिटल अर्थतन्त्रमार्फत युवाको विश्व बजारमा पहुँच तथा महामारीका समयमा खोप र औषधिको सुनिश्चितता नेपालको कूटनीतिक प्राथमिकतामा रहेको उहाँको भनाइ थियो।
मन्त्री खनालले जलवायु संकट, ऊर्जा सुरक्षा र विश्वव्यापी आपूर्ति शृङ्खलामा देखिएका अवरोधजस्ता चुनौती सामना गर्न ‘ट्रयाक टू डिप्लोमेसी’ मार्फत अनौपचारिक संवादको आवश्यकता रहेको पनि बताउनुभयो।
