जनध्वनि
वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले बालबालिकाको गोपनीयता उल्लंघनसम्बन्धी मुद्दा समाधान गर्न टिकटकसँग करिब ४० करोड अमेरिकी डलर बराबरको सम्झौता गर्ने तयारी गरेको छ।
अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजका अनुसार उक्त रकम ट्रम्पले अघि सारेको ‘ब्युटिफिकेसन प्रोजेक्ट’ मा प्रयोग गर्ने विषयमा ह्वाइट हाउसमा छलफल भइरहेको छ। यसमा अर्लिङ्टन राष्ट्रिय समाधिस्थल नजिक प्रस्ताव गरिएको ७६ मिटर अग्लो ‘ट्रायम्फल आर्च’ परियोजना पनि समावेश छ।
अमेरिकी न्याय विभागले सन् २०२४ मा टिकटक र यसको मातृ कम्पनी बाइटडान्सविरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दामा १३ वर्षमुनिका बालबालिकाको व्यक्तिगत विवरण अभिभावकको अनुमति बिना संकलन गरिएको आरोप लगाइएको छ।
सरकारले टिकटकले ‘चिल्ड्रेन्स अनलाइन प्राइभेसी प्रोटेक्सन एक्ट’ उल्लंघन गरेको दाबी गरेको छ। टिकटकले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
