हंगेरीको नवनिर्वाचित संसद् (नेशनल एसेम्बली) को पहिलो अधिवेशनले ‘टिसुजा’ पार्टीकी उपाध्यक्ष एग्नेस फोस्र्टहोफरलाई सभामुख पदमा भारी बहुमतका साथ निर्वाचित गरेको छ। शनिबार सम्पन्न संसद्को उद्घाटन सत्रमा उहाँलाई सो जिम्मेवारी सुम्पिएको हो। १९९ सदस्यीय संसद्का नवनिर्वाचित सांसदहरूले सोही दिन पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै नयाँ संसद्को कार्यकाल विधिवत् रूपमा सुरु भएको छ।
सभामुख चयनका लागि भएको मतदानमा सहभागी १९५ सांसदमध्ये फोस्र्टहोफरको पक्षमा १९३ मत परेको थियो भने विपक्षमा मात्र २ मत खसेको थियो। उहाँ सो पदका लागि एकमात्र उम्मेदवार हुनुहुन्थ्यो। संसद्ले सभामुखका साथै ६ जना उपसभामुखलाई पनि निर्वाचित गरेको छ। सभामुखको रूपमा शपथ ग्रहण गरेलगत्तै फोस्र्टहोफरले एक ऐतिहासिक निर्णय गर्दै १२ वर्षदेखि हटाइएको युरोपेली संघ (ईयू) को झण्डा हंगेरीको संसद् भवनमा पुनः राखिने घोषणा गर्नुभयो। यो कदमले हंगेरीको नयाँ सत्ता युरोपेली युनियनसँगको सम्बन्ध सुधार गर्न इच्छुक रहेको संकेत दिएको छ।
सन् १९८० को मार्चमा जन्मिनुभएकी फोस्र्टहोफरको व्यावसायिक र शैक्षिक पृष्ठभूमि निकै सबल रहेको छ। उहाँसँग अर्थशास्त्र, वित्त, लेखा र मार्केटिङमा विशेषज्ञतासहितको उच्च शैक्षिक योग्यता छ। सन् २०२४ मा सक्रिय राजनीतिमा प्रवेश गर्नुअघि उहाँले विभिन्न संघसंस्थाहरूमा प्रमुख वित्तीय अधिकृत (CFO) र महाप्रबन्धक जस्ता महत्वपूर्ण नेतृत्वदायी पदहरूमा रहेर कार्य गर्नुभएको थियो।
राजनीतिक यात्राको छोटो समयमै सफलता हासिल गर्नुभएकी फोस्र्टहोफर सन् २०२५ को सेप्टेम्बरमा टिसुजा पार्टीको उपाध्यक्ष निर्वाचित हुनुभएको थियो। गत अप्रिल १२ मा सम्पन्न संसदीय निर्वाचनमार्फत संसद्मा प्रवेश गर्नुभएकी उहाँको सभामुखका रूपमा चयन हुनुलाई हंगेरीको राजनीतिमा महिला नेतृत्व र नयाँ राजनीतिक शक्तिको उदयका रूपमा हेरिएको छ। अबको कार्यकालमा संसद्को गरिमा बढाउन र लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउन उहाँको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
