जनध्वनि
वाशिङटन डीसी । इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पनि पेट्रोल कयौं वर्षयताकै महँगो बनेको छ । बढ्दो मूल्यले सर्वसाधारणमा असन्तोष बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संघीय पेट्रोल कर घटाउने पक्षमा देखिएका छन् ।
हाल अमेरिकामा प्रतिग्यालन पेट्रोलमा १८ दशमलव ४ सेन्ट संघीय कर लाग्दै आएको छ । ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै “हो, म कर घटाउनेछु” भन्दै कर अस्थायी रूपमा स्थगित गर्न सकिने संकेत दिएका हुन् ।
यसबीच, रिपब्लिकन सिनेटर जोश हाउलीले ९० दिनका लागि पेट्रोल र डिजेल कर स्थगित गर्ने विधेयक ल्याउने तयारी गरेका छन् । फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएपछि तेल आपूर्तिमा असर परेको हो । विशेषगरी ‘स्ट्रेट अफ होर्मुज’ क्षेत्रमा अवरोध भएपछि विश्व बजार प्रभावित बनेको छ ।
अमेरिकी मोटर क्लब एएएका अनुसार अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ४ डलर ५२ सेन्ट पुगेको छ, जुन २०२२ पछिकै उच्च हो । तर केही नेताहरूले भने कर कटौतीले सडक पूर्वाधार बजेटमा असर पर्ने बताएका छन् ।
