काठमाडौँ । इरानमाथिको अमेरिकी–इजरायली युद्ध अन्त्य गर्ने प्रयास अवरुद्ध बनेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढ्न थालेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को आणविक ऊर्जा केन्द्रमा आक्रमण भएपछि मध्यपूर्वमा तनाव थप चर्किएको हो।
पछिल्लो कारोबार अनुसार ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १.४४ डलर अर्थात् १.३२ प्रतिशतले बढेर ११०.७० डलर पुगेको छ। त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) को मूल्य पनि १.८४ डलर अर्थात् १.७५ प्रतिशतले बढेर १०७.२६ डलर पुगेको छ। दुवै सूचक मे महिनापछिकै उच्च स्तरमा पुगेका हुन्।
स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाजहरूमाथि आक्रमण र नियन्त्रणको घटनाले विश्व बजारमा आपूर्ति अवरोध हुने चिन्ता बढेको छ। गत साता मात्रै तेलको मूल्य ७ प्रतिशतभन्दा बढीले बढेको थियो।
यूएईको बाराकाह आणविक ऊर्जा केन्द्रमा भएको ड्रोन आक्रमणपछि त्यहाँका अधिकारीहरूले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। साथै, यस्ता ‘आतङ्कवादी आक्रमण’ विरुद्ध कडा जवाफ दिने चेतावनी पनि दिएका छन्।
यसैबीच साउदी अरबले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका तीनवटा ड्रोन नष्ट गरेको जनाएको छ। उसले आफ्नो सुरक्षा र सार्वभौमसत्तामाथि हुने कुनै पनि चुनौतीको प्रतिकार गर्ने स्पष्ट संकेत दिएको छ।
अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य विकल्पबारे छलफल गर्न शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग बैठक बस्ने तयारी गरेका छन्।
मध्यपूर्वमा बढ्दो तनावका कारण आगामी दिनमा पनि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य थप अस्थिर बन्न सक्ने विश्लेषकहरूले बताएका छन्।
