यो गीत धर्मराज थापाले गाएको ‘शिरमाथि नेपाली आमालाई…’ गीतको लय र शब्दसँग मिल्दोजुल्दो सुनिन्छ ।
उक्त गीतमा महेन्द्र भनिएको ठाउँमा यसमा भने ज्ञानेन्द्रको नाम लिएको छ । ‘शिरमाथि नेपाल आमालाई काँधमाथि ज्ञानेन्द्र राजालाई’ यी गीतका शब्दहरु युट्यूबमा केही दिनयता चर्चामा छ । प्रधानमन्त्री बालेन शाहको आधिकारिक युट्यूब च्यानलको नाममा देखिने यो गीतमा उनकै च्यानलमा आउनेजस्तो उल्लेख्य भ्यूज भने छैन ।
तीन महिनाअघि (२० फेब्रुअरी, २०२६) अपलोड भएको छ । तर, यसलाई लिएर कतिपयले अनुमान गर्दै लेखिरहेका छन्, ‘तीन महिनाअघि अपलोड गरेर प्राइभेटमा राखिएको गीत अहिले पब्लिक गरियो ।
त्यसैले भर्खर रिच आउन सुरु हुँदैछ ।’ उक्त भिडियोको तल बीस्ट इन नेपाल नामका प्रयोगकर्ताले लेखेका छन्, ‘फेसबुकमा हेरेर आउने को–को हुनुहुन्छ ?’ त्यस्तै, लभनेपाल–२९ नामक प्रयोगकर्ताले यो गीतलाई ट्रेन्डिङमा ल्याएर राजतन्त्र पक्षधरले गणतन्त्र फाल्नुपर्ने तर्क राखेका छन् । कमेन्टबक्समा प्रतिक्रिया बढ्दो देखिन्छन् ।
कतिले त बालेनसँग यो गीतको मर्मअनुसार काम गर्न पनि अनुरोध राखेका छन् । अधिकांशले यो गीत बालेन स्वयंले आफ्नो च्यानलमा राखेको भन्दै खुसी व्यक्त गरिरहेका छन् भने कतिपयले व्यवस्था विरोधी बालेनको छवि अब स्पष्ट भएको भन्दै आलोचना पनि गरिरहेका छन् ।
यो भिडियोको थम्बनेलमा भने ‘शिरमाथि नेपाल आमा’ लेखिएको छ, जुन गीतको शीर्षक नै हो । थम्बनेलमा स्वयम्बु, गौतमबुद्ध, हिमाल र त्यसको सुरक्षार्थ खेटिएको देखाउन हतियारधारी सेना प्रयोग गरिएको छ ।
सँगसँगै हात जोडिरहेकी प्राथनारत् एक वृद्धा पनि अगाडि देखिन्छिन् । तर, यो गीत बालेनको अधिकारिक युट्यूब च्यालनभित्र गएर हेर्दा भने कतै देखिँदैन ।
