कैलालीको गोदावरी नगरपालिका–४ गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न प्रदेश सरकारले ५ सदस्यीय समिति गठन गरेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज बिष्टको संयोजकत्वमा समिति गठन गरेको हो । मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।
गत जेठ २९ गते वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीहरूले टेम्पो भिरबाट खसालेको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा र विवाद उत्पन्न गरेको थियो। मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएको भन्दै छानबिनबाट दोषी देखिने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ।
यसैबीच, घटनाबारे अनुसन्धानका लागि प्रहरीले १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
