बागलुङ जिल्ला, बडिगाड गाउँपालिका–१० निवासी विष्णु कुँवर जापानमा अध्ययनसँगै काम गरिरहेकै क्रममा अचानक गम्भीर स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना हुनुभएको थियो। करिब दुई महिनादेखि जापानको अस्पतालमा निरन्तर उपचाररत उहाँको स्वास्थ्यमा अहिले बिस्तारै सुधार देखिन थालेको छ।
उपचारका क्रममा उहाँको शरीरको केही भाग प्रभावित भए पनि हाल चिकित्सकहरूको निगरानीमा पुनर्स्थापना (रिहाबिलिटेसन) उपचार जारी रहेको र स्वास्थ्य अवस्थामा सकारात्मक सुधार देखिएको जानकारी प्राप्त भएको छ। अझै पूर्ण रूपमा निको हुन समय लाग्ने भएकाले उहाँ अस्पतालमै उपचाररत हुनुहुन्छ।
उहाँको उपचारमा ठूलो आर्थिक खर्च लागिरहेको र उपचार प्रक्रिया अझै लामो समयसम्म जारी रहने भएकाले परिवारले सहयोगको अपेक्षा गरेको छ। यस कठिन घडीमा जापान तथा विश्वभर रहेका नेपाली समुदायले आर्थिक सहयोग, नैतिक साथ र प्रार्थनामार्फत साथ दिइरहेको बताइएको छ।
यसैबीच, विष्णु कुँवरको उपचार र आवश्यक समन्वयमा निरन्तर साथ दिँदै आउनुभएका सुमन बानियाको भूमिकाप्रति परिवारले आभार व्यक्त गरेको छ। अस्पतालदेखि आवश्यक सहयोग जुटाउनेसम्मका कार्यमा उहाँ सक्रिय रूपमा साथ दिइरहनुभएको बताइएको छ।
परिवारले विष्णु कुँवरको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, सहयोग गर्न इच्छुक सबैमा सक्दो सहयोगका लागि हार्दिक अपिल गरेको छ। “सानो सहयोगले पनि एउटा जीवन बचाउन ठूलो योगदान पुर्याउन सक्छ” भन्दै मानवताको भावनासहित साथ दिन आग्रह गरिएको छ।
दिपक न्यौपाने
