शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ ले दर्शकमाझ चर्चा बटुल्दै गर्दा यसको सिक्वेल ‘राम नाम सत्य २’ को औपचारिक घोषणा गरिएको छ।
फिल्मको अन्त्यमा विशेष पोस्ट-क्रेडिट दृश्यमार्फत सिक्वेलको संकेत दिइएको हो, जसले दर्शकमा थप उत्साह सिर्जना गरेको छ।
माइकल चन्दको निर्देशनमा बनेको यस एक्सन-ड्रामा फिल्ममा विराज भट्ट शीर्ष भूमिकामा छन्। साथै सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनिल थापा, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार र खुशी कार्की लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।
फिल्मको अन्तिम दृश्यमा डेब्यु अभिनेता तथा टिकटकर आयुष सिंह ठकुरीलाई केन्द्रमा राख्दै ‘राम नाम सत्य २’ को संकेत गरिएको छ। यसले सिक्वेलमा उनको मुख्य भूमिका रहने अनुमान गर्न सकिन्छ।
फिल्ममा ‘अगुआ’ नामक रहस्यमय पात्रले भ्रष्ट राजनीतिज्ञ र व्यवसायीहरूलाई लक्षित गर्दै हत्या श्रृंखला सुरु गर्ने कथावस्तु प्रस्तुत गरिएको छ। भ्रष्टाचार, न्याय र सत्ताको दुरूपयोगजस्ता गम्भीर विषयलाई समेटिएको फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ।
हाल फिल्मको व्यापार दर्शकको ‘वर्ड अफ माउथ’ मा निर्भर रहने देखिएको छ। प्रदर्शनसँगै कलाकारहरू दर्शक भेटघाटका लागि विभिन्न हलहरूमा पुगिरहेका छन्।
