जनध्वनि
सबै कथा सिधै सफलतामा पुग्दैनन्, केही कथा पसिनाबाट लेखिन्छन्। सुरेश चन्द्र उपाध्याय को कथा त्यस्तै हो जहाँ सुरुआत सामान्य थियो, तर लक्ष्य असामान्य।
सन् २००९ मा जापान पुगेका सुरेशले सुरुमा बन्दा र प्याज काट्ने काम गरे। भाषा थाहा थिएन, वातावरण नयाँ थियो, तर हिम्मत भने अडिग। कामसँगै उनले जापानी भाषा सिके, पढाइ अगाडि बढाए र क्रमशः जिम्मेवारी पनि बढ्दै गयो। एक समय यस्तो आयो, जब उनी सयभन्दा बढी कामदारको नेतृत्व गर्ने सुपरभाइजर बने।
तर त्यतिमै उनी रोकिएनन्।
सन् २०१६ बाट उनले आफ्नै बाटो रोजे व्यवसाय। आज नागोयामा उनको ‘पायनियर रिक्रुट’ एजेन्सीले २५० भन्दा बढीलाई रोजगारी दिलाइरहेको छ। नेपाल मात्र होइन, एशियाका विभिन्न देशका युवाहरूलाई उनले जापानमा अवसर दिलाइरहेका छन्।
सुरेशको सोच केवल पैसा कमाउनेमा सीमित छैन। जापानमै हुर्किरहेका नेपाली बालबालिकाले आफ्नो जरा नबिर्सून् भनेर उनले साथीसँग मिलेर ‘तोकाया बाटिका इन्टरनेसनल स्कुल’ खोले। जहाँ नेपाली पाठ्यक्रमसँगै जापानी भाषा पनि सिकाइन्छ। उनको सपना अझ ठूलो छ स्कुललाई विश्वविद्यालयसम्म पुर्याउने।
त्यत्तिकैमा रोकिएको छैन उनको व्यस्तता। चार वटा रेस्टुरेन्ट, अन्तर्राष्ट्रिय रेमिटेन्स सेवा ‘येहे रेमिट’, र सामाजिक काम सबैतिर उनको सक्रिय उपस्थिति छ। अनौपचारिक रूपमा पैसा पठाउने प्रवृत्ति घटाउन उनले रेमिटेन्स क्षेत्रमा हात हालेका हुन्।
सुरेशको यात्रा केवल व्यक्तिगत सफलताको कथा होइन, अवसर खोज्ने हरेक नेपालीका लागि प्रेरणा पनि हो।
उनी भन्छन्, “संघर्ष नगरी केही पाइँदैन। तर एकचोटि बाटो समात्यो भने, संसार सानो हुँदै जान्छ।”
