सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले आफ्नो मातहतका कर्मचारीहरूका लागि नयाँ आचारसंहिता लागू गर्दै कार्यशैलीमा कडाइ ल्याएको छ। बुधबार सार्वजनिक गरिएको यो आचारसंहिताले कर्मचारीको व्यवहार, अनुशासन र सेवा प्रवाहलाई व्यवस्थित बनाउने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ।
नयाँ निर्देशिकाअनुसार अब कर्मचारीहरूले संविधान, विद्यमान कानून र सरकारी नीतिहरूको पूर्ण पालना अनिवार्य रूपमा गर्नुपर्नेछ। समयपालनमा विशेष जोड दिँदै मन्त्रालयले निर्धारित समयमा कार्यालयमा उपस्थित हुनुपर्ने र बिनाअनुमति अनुपस्थित हुन नपाइने स्पष्ट पारेको छ।
कार्यालयभित्रको अनुशासनलाई थप व्यवस्थित बनाउन ड्रेसकोड अनिवार्य गरिएको छ। कर्मचारीहरूले तोकिएको पोशाक लगाउनुका साथै परिचयपत्र देखिने गरी लगाउनुपर्ने व्यवस्था गरिएको छ।
कामको गति र उत्तरदायित्वमा पनि नयाँ मापदण्ड तय गरिएको छ। कर्मचारीहरूले आफ्नो जिम्मामा आएको काम सकेसम्म सोही दिन वा अधिकतम भोलिपल्टसम्म सक्नुपर्नेछ। ढिलाइ हुने अवस्था आएमा तत्काल सुपरीवेक्षकलाई जानकारी गराउनुपर्नेछ भने कामको प्रगति ट्र्याकिङ र फलोअप अनिवार्य गरिएको छ।
सेवा प्रवाहलाई संवेदनशील बनाउने उद्देश्यसहित ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला, बालबालिका र असहाय नागरिकलाई प्राथमिकता दिनुपर्ने व्यवस्था पनि आचारसंहितामा समेटिएको छ।
यससँगै कार्यालयको सरसफाइ कायम राख्ने, स्रोतसाधनको मितव्ययी प्रयोग गर्ने र काममा गुणस्तर कायम गर्ने विषयमा पनि स्पष्ट निर्देशन दिइएको छ।
मन्त्रालयले आचारसंहितालाई केवल कागजी नियम नभई व्यवहारमा लागू गराउने प्रतिबद्धता जनाएको छ, जसले सार्वजनिक सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
