जनध्वनि
थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अवैध रूपमा बसिरहेका ४६ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फिर्ता गरेको छ। दूतावासका अनुसार उनीहरूलाई ३० चैत र १ वैशाखका दिन उद्धार गरी नेपाल पठाइएको हो।
दूतावासले जनाएको अनुसार विभिन्न प्रलोभनमा परेर रोजगारीका नाममा कम्बोडिया पुगेका ती नेपालीहरू त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोमा हुने अनलाइन ठगी तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको पाइएको छ। केही व्यक्ति भने भिसा बिना वा भिसा अवधि सकिएपछि पनि त्यहाँ बसिरहेका थिए।
दूतावासले यस्ता घटनामा परेका अन्य नेपालीहरूलाई पनि उद्धार गरी स्वदेश फर्काउने प्रयास भइरहेको जनाएको छ। साथै, कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा प्रयोग भइरहेको तथा भिसा अवधि समाप्त भएपछि पनि बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ।
यसैबीच, कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कले पछिल्ला वर्षहरूमा त्यहाँ जाने नेपालीहरूको संख्या उल्लेख्य रूपमा बढेको देखाएको छ। तथ्याङ्कअनुसार सन् २०२१ मा १०१ जना, सन् २०२२ मा १,९७७ जना, सन् २०२३ मा २,९४० जना, सन् २०२४ मा ६,४०४ जना र सन् २०२५ मा ९,६७६ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएको देखिन्छ।
दूतावासले यस किसिमका जोखिमपूर्ण यात्रा र अवैध काममा संलग्न हुन नजान आग्रह गर्दै वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सचेत रहन सबैलाई अनुरोध गरेको छ।
