स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालमा उपलब्ध निःशुल्क शय्याको विवरण सार्वजनिक गर्ने उद्देश्यले ‘फ्रि हेल्थ पोर्टल’ सञ्चालनमा ल्याएको छ। यस पोर्टलमार्फत अस्पतालहरूले छुट्याएका १० प्रतिशत निःशुल्क शय्याको अवस्थाबारे जानकारी लिन सकिनेछ।
हालसम्म २३ वटा अस्पतालले पोर्टलमा आफ्नो विवरण अद्यावधिक गरेका छन्। ती अस्पतालहरूमा रहेका कुल ५३२५ शय्यामध्ये ६२१ शय्या निःशुल्कका लागि छुट्याइएको देखिएको छ। तर तीमध्ये अहिलेसम्म एउटा मात्र शय्या प्रयोगमा रहेको तथ्यांकले देखाएको छ।
यता निजी अस्पतालहरूले भने स्पष्ट मापदण्ड अभावका कारण १० प्रतिशत निःशुल्क शय्या कार्यान्वयन गर्न कठिनाइ भइरहेको बताएका छन्। उनीहरूले सरकारबाट स्पष्ट निर्देशिका र कार्यान्वयनका आधारहरू आवश्यक रहेको बताएका छन्।
स्वास्थ्य मन्त्रालयले भने पोर्टलमार्फत पारदर्शिता बढ्ने र सेवाग्राहीले सहज रूपमा निःशुल्क उपचार सुविधा पाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, मन्त्रालयले आगामी दिनमा मापदण्डलाई थप स्पष्ट बनाउँदै कार्यान्वयनलाई प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।
