जनध्वनि
काठमाडौं — नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादको रिटमाथिको सुनुवाइ बिहीबार पनि नसकिएपछि सर्वोच्च अदालतले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको छ।
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबारदेखि सुरु भएको सुनुवाइ पहिलो दिनमै पूर्ण हुन नसकेपछि शुक्रबार पनि निरन्तर सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेका अनुसार सुनुवाइ अधुरो रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
विवाद गत पुसको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनपछि चर्किएको हो। उक्त महाधिवेशनले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।
विशेष महाधिवेशनबाट गठित नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि आयोगको निर्णयविरुद्ध देउवा पक्षका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका हुन्।
यसअघि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। विपक्षीका तर्फबाट जवाफसमेत सर्वोच्चमा पेश भइसकेको छ। यसअघि चैत २७ गते कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो।
