काठमाडौँको तार्केश्वर क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भई निधन भएका प्रहरी निरीक्षक अभय लामाको शुक्रबार स्वयम्भूस्थित दाहसंस्कार गरिएको छ। दाहसंस्कार कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ स्वयं उपस्थित भई स्वर्गीय लामाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
गृहमन्त्री गुरुङले दाहसंस्कारका क्रममा लामाको शवसमेत बोकेर सम्मान प्रकट गरेका थिए। यस घटनाले सुरक्षा निकायभित्र शोकको वातावरण सिर्जना गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत लामाको दुर्घटनापछि उपचारका लागि बिएण्डबी अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।
स्वर्गीय लामाको निधनप्रति प्रहरी संगठनका अधिकारी तथा सहकर्मीहरूले गहिरो दुःख व्यक्त गर्दै उनको योगदानको उच्च मूल्याङ्कन गरेका छन्।
