धनगढी — कैलाली मा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा चुरे गाउँपालिका–३ का ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकार रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुवै बालकको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल मा शुक्रबार मृत्यु भएको हो। उनीहरू सहोदर दाजुभाइ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार बिहीबार मरेको ब्रोइलर कुखुराको मासु खाएपछि उनीहरू बिरामी परेका थिए। घटना भएको भोलिपल्ट मात्र प्रहरीलाई जानकारी गराइएको थियो। त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो।
घटनामा बालकहरूको आमा २८ वर्षीया राधिका ताम्राकार र ३ वर्षीय कान्छा छोरा दिपेश ताम्राकार पनि बिरामी परेका छन्। उनीहरूको हाल सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा मरेको कुखुराको मासु सेवनकै कारण घटना भएको आशंका गरिएको भए पनि आधिकारिक पुष्टि भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ। उक्त मासु स्थानीय ‘विकास पोल्ट्री फार्म’ बाट खरिद गरिएको खुलेको छ।
फार्म सञ्चालक मंगल साउँद इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भई बयान दिएका छन्। उनलाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
