दोलखा जिल्लाको जिरी नगरपालिका निवासी २७ वर्षीय दर्शन केसी प्रेरणाको जिउँदो उदाहरण बनेका छन्। जन्मिँदै हातखुट्टा नचल्ने अवस्थासँग जुध्दै आएका दर्शनले शारीरिक सीमितताबीच पनि आफ्नो इच्छाशक्ति र मेहनतले असम्भवलाई सम्भव बनाएका छन्।
बाल्यकालमा परिवारले उनलाई ललितपुरस्थित मस्तिष्क पक्षघात केन्द्रमा राखेर उपचार गराउँदा उनले त्यहीँ बसेर कक्षा ६ सम्मको अध्ययन पूरा गरेका थिए। शिक्षा प्रतिको उनको लगाव र आत्मबलले उनलाई निरन्तर अघि बढ्न प्रेरित गरिरह्यो।
घर फर्किएपछि उनले ह्वीलचेयरमै बसेर नाकको सहायताले टाइप गर्दै कविता लेख्न थाले। लेखनप्रतिको उनको लगाव यतिसम्म गहिरो बन्यो कि उनले आफ्नै कृति पुस्तकका रूपमा प्रकाशन गर्न सफल भए। यति मात्र होइन, चर्चित गायक प्रमोद खरेलसँग आफ्नै शब्दमा गीत निकाल्ने सपना बोकेका दर्शनले नाककै सहायताले गीतसमेत लेखिसकेका छन्।
हाल उनी भारतका एक अङ्ग्रेजी शिक्षकसँग अनलाइनमार्फत अङ्ग्रेजी कक्षा पनि लिइरहेका छन्। प्रविधिको प्रयोग गर्दै उनले आफ्नो सिकाइलाई निरन्तरता दिइरहेका छन्।उनको जीवन संघर्ष, धैर्यता र दृढ संकल्पको उदाहरण हो, जसले धेरैलाई प्रेरित गरिरहेको छ।
दर्शन केसीले देखाएको साहस र आत्मविश्वासले यो प्रमाणित गर्छ कि इच्छाशक्ति बलियो भए कुनै पनि बाधा ठूलो हुँदैन।
