सरकारले सशस्त्र प्रहरी बल (APF) को सर्वोच्च पद महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा पहिलो नम्बरमा रहेका पौडेललाई आईजीपी बनाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले पौडेलको नियुक्तिको पुष्टि गरे।
राजु अर्यालको अवकाश र नयाँ कमाण्ड
सशस्त्र प्रहरीका वर्तमान आईजीपी राजु अर्याल आगामी वैशाख १८ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्। २०७९ वैशाख १९ मा कमाण्ड सम्हालेका अर्यालको बिदाइसँगै पौडेलले सशस्त्र प्रहरी बलको नेतृत्व लिनेछन्। सशस्त्र प्रहरी नियमावली अनुसार आईजीपीको पदावधि चार वर्षको हुने व्यवस्था छ।
वरीयता र कार्यक्षमताका आधारमा पहिलो नम्बरमा रहेका पौडेललाई नै सरकारले संगठनको नेतृत्व सुम्पिने निर्णय गरेको हो।
