नेपाल सरकारले पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्यवृद्धिलाई दृष्टिगत गर्दै सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा हिजो भएको मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुवाहक र मालवाहक दुवै प्रकारका सवारी साधनमा ५ प्रतिशतले भाडा बढाइएको हो। यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार यो निर्णय अन्तर-प्रदेशस्तरमा सञ्चालन हुने लामो दूरीका सवारी साधनहरूको हकमा लागू हुनेछ।
यसअघि भाडा समायोजन गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेको थियो। तर, पछिल्लो समयमा इन्धनको मूल्यमा प्रतिलिटर ५५ रुपैयाँले भारी वृद्धि भई २३५ रुपैयाँ ८३ पैसा पुगेको छ। यो अघिल्लो मूल्यको तुलनामा ३०.४१ प्रतिशतको वृद्धि हो। इन्धनमा भएको यही उतारचढावलाई आधार मानी स्वचालित प्रणालीअनुसार भाडा समायोजन गर्न मन्त्रालयले निर्देशन दिएको विभागले जनाएको छ।
सरकारले यसअघि गत चैत २५ गते मात्र १३ वटा विभिन्न सूचकहरूलाई आधार मानी भाडा समायोजन गरेको थियो। सो समयमा यात्रुवाहक सवारीमा १६.७१ प्रतिशत, पहाडी क्षेत्रका मालवाहक सवारीमा २१.६८ प्रतिशत र तराई क्षेत्रका मालवाहक सवारीमा १५.७५ प्रतिशतले भाडा बढाइएको थियो। यद्यपि, चैत यता नै दुई पटक इन्धनको मूल्य बढेपछि यातायात व्यवसायीहरूले लगातार भाडा पुनरावलोकनको माग गर्दै आएका थिए।
व्यवसायीहरूको दबाब र बजारको अवस्थालाई हेर्दै विभागले वैशाख ९ गते नै नयाँ सिफारिस पेश गरेको थियो। जसमा यात्रुवाहक सवारीका लागि ९.८ प्रतिशत र ढुवानीका लागि पहाडी तथा तराई क्षेत्रमा क्रमशः १४ र १२ प्रतिशत वृद्धिको प्रस्ताव गरिएको थियो। तर, वर्तमान परिस्थिति र सर्वसाधारणको हितलाई ध्यानमा राख्दै नवनियुक्त मन्त्री सुनिल लम्सालले तत्कालका लागि ५ प्रतिशतले मात्र भाडा वृद्धि गरी समायोजन गर्ने स्वीकृति दिएका हुन्।
