सरकारले विभिन्न ऐन संशोधनका लागि थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार, बुधबार सरकारले विश्वविद्यालय, स्वास्थ्य र ‘केही नेपाल ऐन संशोधन’ गर्ने सम्बन्धी तीन वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
यसअघि गत सोमबार मात्रै पनि सरकारले अन्य दुई वटा महत्वपूर्ण अध्यादेश सिफारिस गरेको थियो। सोमबार सहकारी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरिएको थियो।
बुधबार थप तीन वटा सिफारिस भएसँगै यस साता मात्रै सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका अध्यादेशको संख्या पाँच पुगेको छ। राष्ट्रपतिबाट यी अध्यादेशहरु प्रमाणीकरण भएपछि कानुनका रूपमा लागू हुनेछन्।
