राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशका धेरै संवैधानिक निकायहरू लामो समयदेखि खाली रहेको भन्दै अब समय कुरेर बस्न नसकिने बताएका छन्। उनले जनअपेक्षा पूरा गर्न सरकारले सक्रिय र निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा बोल्दै उनले जनताको अपेक्षा अनुसार काम गर्न “नम्र राजनीतिक आक्रामकता” आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार केवल प्रक्रिया कुरेर बस्दा महत्वपूर्ण निर्णयहरू ढिला भइरहेका छन्।
उनले धेरै संवैधानिक आयोग र निकायहरूमा पद खाली हुँदा काममा व्यवहारिक कठिनाइ भइरहेको बताए। कतिपय ठाउँमा कार्यवाहकले जिम्मेवारी सम्हाल्नुपरेको र त्यसले दीर्घकालीन निर्णय लिन समस्या भइरहेको उनको भनाइ छ।
यसैबीच रामचन्द्र पौडेलसमक्ष सरकारले सिफारिस गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विवादमा तानिएपछि उनले सरकारको बचाउ गरेका छन्। उनले यस्तो अवस्थामा निर्णय लिन ढिलाइ गर्न नहुने तर्क प्रस्तुत गरेका छन्।
