काठमाडौं — अभिनेता दयाहाङ राई ले खोला तथा नदी किनारका सुकुमवासी बस्तीमा डोजर चलाउने सरकारी कदमप्रति घुमाउरो ढंगले असहमति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, “जस्तो कि … यहाँ, सम्पत्ति त लुकाउन सकिने रहेछ । गरिबी पो लुकाउन सकिँदो रहेनछ !!” — जसलाई धेरैले वर्तमान बस्ती हटाउने अभियानप्रति संकेतका रूपमा लिएका छन्।
केही दिनअघि एक मिडिया अन्तर्वार्तामा पनि उनले सरकार संवेदनशील हुनुपर्ने बताउँदै, निर्णयहरू गर्दा मानवीय पक्षलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए। उनका अनुसार विकासका नाममा गरिने कार्यहरूले कमजोर वर्गलाई थप समस्यामा पार्न नहुनेतर्फ ध्यान दिन आवश्यक छ।
हाल विभिन्न स्थानमा सुकुमवासी बस्ती हटाउने अभियान तीव्र भइरहेका बेला कलाकार र सर्वसाधारणबाट पनि विभिन्न प्रतिक्रिया आइरहेका छन्।
