जनध्वनि
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद् र संसदीय समितिहरूमा जनचासो र तोकिएको विषयमा मात्र केन्द्रित भएर छलफल गर्न सांसदहरूलाई आग्रह गरेकी छन्।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संसदीय छलफललाई प्रभावकारी बनाउन एजेन्डा केन्द्रित बहस आवश्यक रहेको बताइन्।
मन्त्री गौतमका अनुसार सांसदहरूले पूर्वतयारीसहित विषयवस्तुमा केन्द्रित भएर छलफल गरे सरकार पनि स्पष्ट र ठोस जवाफ दिन सक्षम हुने बताइन्। “एजेन्डा केन्द्रित छलफल भए सरकार पनि तयारीसहित जवाफ दिन सक्छ,” उनले भनिन्।
उनले समितिमा समय व्यवस्थापन र अनुशासनको महत्व पनि औँल्याइन्। समयको सीमाबिना लामो छलफलले परिणाम नदिने भन्दै निश्चित फ्रेमभित्र रहेर विषय उठान गर्नुपर्ने उनको भनाइ थियो।
मन्त्री गौतमले संसद् र संसदीय समितिको उद्देश्य प्रभावकारी निर्णय र जनचासोका मुद्दा सम्बोधन गर्नु भएकाले मूल विषयमा केन्द्रित भएर छलफल गर्न आवश्यक रहेको स्पष्ट पारिन्।
