काठमाडौं — काठमाडौं प्रहरीले शोभा पाठकमाथि भएको आक्रमण घटनामा संलग्न १० जनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।
पाठक माइतीघर मण्डलामा सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग गर्दै धर्ना बसिरहेकी अवस्थामा सो घटना भएको थियो। सोही स्थानमा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत सहितको समूहले उनीमाथि आक्रमण गरेको आरोप छ।
घटनापछि प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान गरेको थियो। अनुसन्धान पूरा गरी प्रहरीले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो।
सरकारी वकिल कार्यालयले सो प्रतिवेदन अध्ययन गरिरहेको र आवश्यक प्रक्रिया पूरा भएपछि  अदालतमा मुद्दा दर्ता गर्ने तयारी रहेको जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
