तनहुँ । देशकै प्रमुख यातायात धमनिका रूपमा रहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार आयोजनामा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर खण्डमा चार लेन कालोपत्र कार्य लगभग पूरा भएसँगै यात्रुहरूले अब सहज र द्रुत यात्रा अनुभव गर्न सक्ने भएका छन्।
मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)की इन्जिनियर सहनशिला कायस्थका अनुसार विजयपुर क्षेत्रको करिब ३५० मिटर खण्डमा दुई लेन बाहेक बाँकी सम्पूर्ण क्षेत्रमा चार लेन कालोपत्र सम्पन्न भइसकेको छ। उक्त क्षेत्रमा पनि काम तीव्र गतिमा अघि बढिरहेको छ भने सडक किनारका ‘सर्भिस लेन’ निर्माण कार्य जारी रहेको छ।
यसैबीच, सेती नदीमाथि निर्माणाधीन ‘सिग्नेचर पुल’ पनि आयोजनाको अर्को आकर्षक र महत्त्वपूर्ण पक्षका रूपमा अघि बढिरहेको छ। करिब एक अर्ब सात करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त चार लेन पुलले पोखरा प्रवेशलाई अझ व्यवस्थित र आधुनिक बनाउने अपेक्षा गरिएको छ।
चिनियाँ निर्माण कम्पनीले जिम्मा लिएको उक्त पुल यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पुल निर्माण सम्पन्न भएपछि यातायात व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा सहरको सौन्दर्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा सञ्चालन भइरहेको यो सडक विस्तार आयोजनाले मुग्लिनदेखि पोखरासम्मको यात्रा समय उल्लेखनीय रूपमा घटाउने लक्ष्य राखेको छ। साथै, यसले पर्यटन, व्यापार र क्षेत्रीय आर्थिक गतिविधिलाई समेत थप गति दिने अपेक्षा गरिएको छ।
स्थानीयवासी तथा यात्रुहरूका लागि यो आयोजना केवल सडक विस्तार मात्र नभई विकासको नयाँ आयामको संकेतका रूपमा हेरिएको छ।
