काठमाडौँ । संविधान संशोधनका लागि गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरूसँग महत्वपूर्ण परामर्श गर्न लागेको छ। कार्यदलका संयोजक असिम शाह र सदस्य सचिव लीलाधर सुवेदीका अनुसार संविधान संशोधनसँग सम्बन्धित विभिन्न विषयमा सुझाव संकलन गर्ने उद्देश्यले यो छलफल आयोजना गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म परामर्श कार्यक्रम सञ्चालन हुनेछ। छलफलमा सहभागी पूर्वमहान्यायाधिवक्ताहरूबाट संविधान संशोधनको आवश्यकता, प्रक्रिया, सम्भावित चुनौती तथा सुधारका विकल्पहरूबारे राय संकलन गरिने बताइएको छ।
कार्यदलले प्राप्त सुझावहरूलाई समेटेर विस्तृत बहसपत्र तयार गर्ने तयारी गरेको छ। यसले आगामी दिनमा संविधान संशोधनसम्बन्धी नीतिगत दिशानिर्देश तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सरकारले संविधानलाई समयानुकूल बनाउन आवश्यक सुधारका लागि सरोकारवालासँग व्यापक छलफल गरिरहेको छ। यो परामर्शलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
