पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध ‘रेड नोटिस’ जारी गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले नेपाल प्रहरीसँग थप कानुनी कागजात र विवरण माग गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा नेपाल प्रहरीको नेशनल सेन्ट्रल ब्यूरो (NCB) ले पठाएको अनुरोधमाथि अध्ययन गर्दै फ्रान्सस्थित इन्टरपोल महासचिवालयले अभियोग पुष्टि हुने थप प्रमाण र अनुसन्धानको वर्तमान अवस्थाबारे स्पष्ट पार्न पत्राचार गरेको हो। गैरकानुनी सम्पत्ति आर्जन र शुद्धीकरणको आरोपमा अनुसन्धान गरिरहेको विभागको पत्रका आधारमा गत चैत २४ गते काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
देउवा दम्पती गत फागुन १४ गते उपचारको बहानामा विदेश गएपछि हालसम्म नेपाल फर्किएका छैनन्। अध्यागमनको रेकर्ड र विभिन्न स्रोतका अनुसार उनीहरू हाल हङकङमा रहेको अनुमान गरिएको छ। इन्टरपोलले मागेको थप कागजात उपलब्ध गराएपछि मात्र रेड नोटिस जारी गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय हुनेछ। यता, पूर्वप्रधानमन्त्री देउवाले भने आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै ती सबै राजनीतिक प्रतिशोध र आधारहीन भएको बताउँदै आउनुभएको छ। रेड नोटिस जारी भएमा इन्टरपोलका सदस्य रहेका १९६ देशका प्रहरीले उनीहरूलाई पक्राउ गरी नेपाल सुपुर्दगी गर्ने बाटो खुल्नेछ।
