जनध्वनि
एजेन्सी । आर्सनलले एट्लेटिको मड्रिडलाई १–० ले पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
दुई लेगको समग्र नतिजामा आर्सनलले २–१ को जित निकाल्दै २० वर्षपछि पहिलो पटक प्रतियोगिताको फाइनल यात्रा तय गरेको हो। पहिलो लेग १–१ को बराबरीमा टुंगिएको थियो।
लन्डनस्थित एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका बुकायो साकाले निर्णायक गोल गरे। खेलको ४४औँ मिनेटमा लिएन्ड्रो ट्रोसार्डको प्रहार गोलकिपर जान ओब्लाकले रोके पनि रिबाउन्ड साकासम्म पुगेपछि उनले सहजै गोल गरे।
पहिलो हाफमै एट्लेटिकोले केही राम्रो अवसर बनाएको थियो तर डेक्लान राइसले उत्कृष्ट ब्लक गर्दै गोल हुनबाट रोके। दोस्रो हाफमा आर्सनलले थप अवसर पाए पनि भिक्टर ग्योकेरेसको प्रहार पोस्टमाथि गएको थियो।
खेलका क्रममा गाब्रिएल मागाल्हाएस र जुलियानो सिमेओनेबीचको टक्करपछि भिएआर जाँच पनि गरिएको थियो। एन्ट्वाइन ग्रिजम्यान पेनाल्टी क्षेत्रमा लडिए पनि रेफ्रीले पेनाल्टी दिएनन्।
साकाको गोल नै निर्णायक बनेपछि आर्सनलले ऐतिहासिक जित हात पारेको हो। अब टोलीले उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पिएसजी) वा बायर्न म्युनिखमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।
साकाले यो सिजन च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै १४ खेलमा ९ गोल र ५ असिस्ट गरेका छन्। आर्सनलले स्पेनी क्लबविरुद्ध पछिल्ला ९ खेलमा अपराजित रहँदै आफ्नो बलियो रेकर्ड पनि कायम राखेको छ।
