नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व हस्तान्तरण गर्ने क्रममा निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा निजी क्षेत्रको उत्थान र कानुनी अड्चन फुकाउन भएका पहलहरू ऐतिहासिक रहेको बताउनुभएको छ। बुधवार आयोजित कार्यक्रममा उहाँले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आएको सकारात्मक परिवर्तन र सरकारले पहिलो क्याबिनेटबाटै ‘निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति’ हुबहु पारित गर्नुलाई ठूलो उपलब्धिका रूपमा चित्रण गर्नुभयो। ढकालले कालोबजार ऐन र अख्तियारको दायरामा निजी क्षेत्रलाई राख्ने जस्ता गम्भीर विषयमा महासंघले सशक्त पैरवी गरेको र अब सरकारसँगको सम्बन्ध ‘माग्ने र दिने’ मा मात्र सीमित नभई सहकार्यको नयाँ अध्यायमा प्रवेश गरेको उल्लेख गर्नुभयो। उहाँले पदमा नरहे पनि निजी क्षेत्रको हकहितका लागि सदैव उपलब्ध हुने प्रतिबद्धता जनाउँदै नवनिर्वाचित कार्यसमितिलाई पूर्ण समर्थन रहने विश्वास दिलाउनुभयो।
यसैबीच, महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नुभएको छ भने अन्य पदहरूको निर्वाचन परिणाम पनि सार्वजनिक भएको छ। निर्वाचनमा अञ्जन श्रेष्ठको समूहका अधिकांश उम्मेदवार विजयी भएका छन्, जसमा एसोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डेले ज्योत्सना श्रेष्ठलाई ३२९ मतले पछि पार्दै जित हासिल गर्नुभयो। यस्तै, जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी हुनुभएको छ भने वस्तुगत उपाध्यक्षमा भने हेमराज ढकाल समूहका नरेशलाल श्रेष्ठले ६३ मतका साथ शिव घिमिरेलाई पराजित गर्नुभयो। एसोसिएटतर्फका १७ सदस्यमध्ये १६ जना पाण्डेकै प्यानलका निर्वाचित भएका छन्। केही पदहरूको मतगणना अझै जारी रहे पनि मुख्य पदहरूको नतिजा आएसँगै महासंघले नयाँ कार्यसमिति र कार्यदिशा प्राप्त गरेको छ।
