काठमाडौं — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विस्थापित गरिएका सुकुमबासीहरू यतिबेला भक्तपुरको बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा अस्थायी आश्रय लिएर बसिरहेका छन्। सरकारले आधारभूत बसोबास र खानाको व्यवस्था गरे पनि उनीहरूको भविष्य अझै अन्योलमै छ।
वर्षौँदेखि काठमाडौँलाई आफ्नो थातथलो बनाएका यी विपन्न नागरिकहरू अहिले टहराको सीमित घेराभित्र जीवन बिताइरहेका छन्। उनीहरूको मुख्य अपेक्षा भनेको सरकारबाट स्थायी बसोबासको व्यवस्था हो।
शंखमुल क्षेत्रमा २०३० सालदेखि बसोबास गर्दै आएका ७२ वर्षीय वीरबहादुर तामाङ र उनकी श्रीमती सानुमाया तामाङ पनि अहिले बोडेमा एक हप्तादेखि आश्रित छन्। सानुमाया भन्छिन्, “खान बस्न त राम्रो छ, तर अब कहाँ जाने थाहा छैन। दुःख गरेर बनाएको घर गुम्यो, निद्रा लाग्दैन।”
वीरबहादुरको पीडा झन् गहिरो छ। “बुवा–आमा त्यहीँ बित्नुभयो, हामी त्यहीँ हुर्कियौँ। अहिले सबै गुमायौँ। सरकारले सानो भए पनि बस्न ठाउँ दिनुपर्छ,” उनी भन्छन्। बुढेसकालमा भाडामा बस्न समेत गाह्रो हुने भन्दै उनले काठमाडौँमै बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।
यस्तै, धनुषाबाट आएकी ४२ वर्षीया जैतून खातुनको परिवार पनि बल्खुबाट विस्थापित भएको हो। घर बनाउन लिएको ४–५ लाख ऋण अझै बाँकी छ। “सानो चिया पसलबाट गुजारा चलाउँथ्यौँ, अहिले सबै गुम्यो,” उनी भन्छिन्। उनको माग छ—पुरानै ठाउँ वरिपरि पुनः बसोबासको व्यवस्था होस्।
५० वर्षीया मञ्जु तामाङको अवस्था पनि उस्तै पीडादायी छ। वैदेशिक रोजगारीबाट कमाएको सबै रकम घर निर्माणमा लगानी गरेकी उनी अहिले खाली हात छिन्। “एक रुपैयाँ पनि छैन, अरूको सहारामा यहाँ आइपुगेँ,” भन्दै उनले कम्तीमा ४ आना जग्गा र एउटा टहरा बनाइदिन सरकारसँग आग्रह गरेकी छिन्।
५३ वर्षीया गीता तामाङ नागरिकताविहीन अवस्थामा संघर्ष गरिरहेकी छन्। स्वास्थ्य समस्यासँग जुधिरहेकी उनी भन्छिन्, “बसोबास अहिले ठिकै छ, तर सानो भए पनि आफ्नै झुपडी भए हुन्थ्यो।” गीता र मञ्जु अहिले एउटै कोठामा बस्दै एकअर्कालाई साथ दिइरहेका छन्।
विस्थापितहरूको साझा गुनासो भनेको वैकल्पिक व्यवस्था नगरी बस्ती हटाइएको हो। “पहिले गाँस, बास, कपासको व्यवस्था गरेर मात्रै भत्काउनुपर्थ्यो,” मञ्जुको आक्रोश छ। अचानक डोजर चलाउँदा धेरैको सम्पत्ति नष्ट भएको उनीहरूको भनाइ छ।
हाल बोडे शिविरमा बिहान–बेलुका खाना र दिउँसो चिया–बिस्कुट जस्ता आधारभूत सुविधा उपलब्ध गराइएको छ। तर दीर्घकालीन समाधान नहुँदा उनीहरू चिन्तित छन्।
वृद्ध वीरबहादुरको शब्दमा उनीहरूको अवस्था स्पष्ट देखिन्छ—
“न समाउने हाँगो छ, न टेक्ने खुड्किलो। अब कहाँ जाने? सरकारले एउटा सुरक्षित ठाउँ दिओस्, हामी सडकमा मर्न नपरोस्।”
बोडेमा आश्रय लिएका सुकुमबासीहरूको भविष्य सरकारले समयमै उचित र दीर्घकालीन समाधान नदिएसम्म अनिश्चितताको घेराभित्रै रहने देखिन्छ।
