लिबियाका वाणिज्य बैंकहरूले नागरिकहरूलाई वैदेशिक मुद्राको कोटा अन्तर्गत नगद वितरण गर्न सुरु गरेका छन्। विगत १३ वर्षमा पहिलोपटक लिबियाली नागरिकले बैंकमार्फत प्रत्यक्ष अमेरिकी डलर नगदमा प्राप्त गर्न थालेका हुन्।
नयाँ व्यवस्थाअनुसार नागरिकहरूले आफ्नो वार्षिक वैदेशिक मुद्रा विनियोजन अन्तर्गत २ हजार अमेरिकी डलरसम्म नगद प्राप्त गर्न सक्नेछन्। लिबियाको केन्द्रीय बैंकले वैदेशिक मुद्राको पहुँचलाई व्यवस्थित बनाउने र आधिकारिक बैंकिङ प्रणालीमार्फत यसको उपलब्धता बढाउने उद्देश्यसहित यो नीति लागू गरेको हो।
यसलाई देशको वैदेशिक मुद्रा व्यवस्थापन नीतिमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। यसअघि वैदेशिक मुद्रा प्राप्तिका लागि बैंक ट्रान्सफर वा इलेक्ट्रोनिक कार्डमा मात्र निर्भर रहनुपर्ने अवस्था थियो। तर अब ‘व्यक्तिगत प्रयोजन’ कार्यक्रम अन्तर्गत बैंकका काउन्टरबाटै सीधै नगद भुक्तानी लिन सकिने व्यवस्था गरिएको छ।
केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई आवश्यक वैदेशिक मुद्रा उपलब्ध गराउने र त्यसको ढुवानी तथा सुरक्षामा बैंकहरूले पूर्ण जिम्मेवारी वहन गर्नुपर्ने स्पष्ट पारेको छ।
