ललितपुर । नेपाल विद्यार्थी संघका निःवर्तमान अध्यक्ष दुजाङ शेर्पाले सरकारले राजनीतिक दलहरूले गरेका नियुक्ति र पदाधिकारीहरूलाई बदनाम गर्ने भाष्य निर्माण गर्न खोजेको आरोप लगाउनुभएको छ।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले विगतका सरकारद्वारा भएका सबै राजनीतिक नियुक्तिहरूलाई ‘ब्रिफकेस बुझाएर आएका’ भन्ने गलत सन्देश फैलाउन खोजिएको टिप्पणी गर्नुभयो।
उहाँले प्रधानमन्त्रीको वर्तमान क्याबिनेटका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लक्षित गर्दै “उहाँ कति रकम बुझाएर योजना आयोगको उपाध्यक्ष बन्नुभयो?” भन्ने प्रश्नसमेत गर्नुभयो। शेर्पाले विगतमा नेपाली कांग्रेसले उहाँलाई विज्ञताको आधारमा विश्वास गरेर नियुक्त गरेको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, “प्रधानमन्त्री बालेन्द्र शाहले सबै राजनीतिक नियुक्ति खराब हुन् भन्ने भाष्य बनाउन खोजिरहनुभएको छ। सबैलाई ब्रिफकेस बुझाएर आएका हुन् भन्ने गलत धारणा फैलाइँदैछ।”
त्यसैगरी उहाँले विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाउँदै त्यसको प्रतिवाद गर्न तयार रहन कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो।
