मुम्बई — बलिउड निर्देशक आदित्य धरको फिल्म ‘धुरन्धर २ : द रिभेन्ज’ ले बक्स अफिसमा उत्कृष्ट सफलता हासिल गरिरहे पनि अहिले कपीराइट विवादका कारण कानुनी झमेलामा परेको छ।
दिल्ली उच्च अदालतलाई जानकारी दिइएअनुसार फिल्मका निर्माता पक्ष र ‘त्रिमूर्ति फिल्म्स’ बीच चर्चित गीत ‘तिरछी टोपीवाले’ को प्रयोगलाई लिएर भएको विवाद मध्यस्थताबाट समाधान हुन सकेन। यससँगै मुद्दा अब औपचारिक सुनुवाइ र ट्रायल चरणमा प्रवेश गरेको छ।
‘त्रिमूर्ति फिल्म्स’ का राजीव रायले जियो स्टुडियोज र बी सिक्सटी टु स्टुडियोजविरुद्ध बिना अनुमति गीत प्रयोग गरिएको आरोपसहित मुद्दा दायर गरेका हुन्। उक्त गीत सन् १९८९ को फिल्म ‘त्रिदेव’ मा समावेश थियो र यसको सम्पूर्ण अधिकार आफ्नो कम्पनीसँग रहेको दाबी गरिएको छ।
फिल्म ‘धुरन्धर २’ मा यही गीतलाई ‘रंग दे लाल (ओए ओए)’ नाममा रिमिक्स गरेर प्रयोग गरिएको छ। क्लाइमेक्स दृश्यमा समावेश गरिएको उक्त गीतमा नयाँ शब्दहरू पनि थपिएका छन्। गीतलाई ज्यास्मिन स्यान्डलस र अफसाना खानले स्वर दिएका छन् भने शाश्वत सचदेवले रिमिक्स गरेका हुन्।
अदालतमा पेश गरिएको जानकारी अनुसार मध्यस्थता असफल भएपछि अब निर्माता पक्षले कानुनी सुनुवाइ सामना गर्नुपर्ने भएको छ। न्यायाधीश तुषार राव गेडेलाले अर्को सुनुवाइका लागि मे ८ को मिति तोकेका छन्।
यसैबीच ‘त्रिमूर्ति फिल्म्स’ ले गीत प्रयोग गर्न कुनै पनि लाइसेन्स वा अनुमति नलिइएको दाबी गर्दै यो स्पष्ट कपीराइट उल्लंघन भएको बताएको छ। कम्पनीका अनुसार गीत र यसको साउन्ड रेकर्डिङको सम्पूर्ण अधिकार उनीहरूसँग सुरक्षित छ।
उता टी सिरिज अन्तर्गतको ‘सुपर क्यासेट्स इन्डस्ट्रिज’ ले भने अन्तरिम राहत नदिनुपर्ने अडान लिएको छ। कम्पनीले दुवै पक्षबीच पारदर्शिता नदेखिएको र विवादलाई गलत ढंगले प्रस्तुत गरिएको दाबी गरेको छ।
निर्माता कम्पनी बी सिक्सटी टु स्टुडियोजले अदालतलाई फिल्म पहिले नै प्रदर्शनमा आइसकेको र आगामी महिनामा ओटीटी प्लेटफर्ममा समेत रिलिज हुने तयारी रहेको जानकारी दिएको छ।
फिल्म अहिले पनि हलमा प्रदर्शनरत छ र ४९औँ दिनसम्म भारतभर ८५९ शोबाट ५२ लाख भारु कमाएको रिपोर्ट छ। बक्स अफिसमा सफल भए पनि गीत विवादले ‘धुरन्धर २’ लाई ठूलो कानुनी चुनौतीतर्फ धकेलेको छ।
