सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विना गुरुङले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई सहज ढङ्गले सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ। बिहीबार सङ्घीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले सरकारलाई कुटनीतिक माध्यमबाट यी विमानस्थलहरूलाई तत्काल चलायमान बनाउन आग्रह गर्नुभएको हो।
सांसद गुरुङले नेपालको पर्यटन प्रवद्र्धनमा छिमेकी मुलुक भारत र चीनको भूमिका निर्णायक हुने उल्लेख गर्दै त्यहाँका पर्यटकहरूलाई सहज रूपमा नेपाल भित्र्याउन अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्ण सञ्चालन अनिवार्य रहेको बताउनुभयो। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि त्यसले अपेक्षाकृत गति लिन नसकेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो:
“पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल छ, तर यसलाई अझै चलायमान बनाउन सकिएको छैन। सरकारले विशेष ध्यान दिएर र कुटनीतिक पहल गरेर यसलाई सञ्चालनमा ल्याउनुपर्छ। चीन र भारत जस्ता विशाल जनसङ्ख्या भएका मुलुकबाट ठूलो मात्रामा पर्यटक भित्र्याउन पोखरा र भैरहवा विमानस्थलको सहज सञ्चालन आवश्यक छ।”
यसका साथै सांसद गुरुङले पोखराका प्रसिद्ध तालतलैयाहरूको उचित संरक्षण र व्यवस्थापनमा पनि सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो। पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार मात्र नभई सेवामा पनि सुधार हुनुपर्ने बताउँदै उहाँले हाल टेलिफोन तथा इन्टरनेट नेटवर्किङमा देखिएको समस्याले पर्यटक र स्थानीयलाई सास्ती भइरहेकोले यसको तत्काल समाधान गर्न सरकारलाई सचेत गराउनुभयो।
