देशभरको मौसममा बदली आएसँगै आज विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले मौसममा आएको परिवर्तनलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
यस्तै, बाँकी तराई क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
रातीको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा जारी रहने सम्भावना रहेको विभागले जनाएको छ । अन्य हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
विभागले मेघगर्जन, चट्याङ तथा वर्षाका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ ।
