काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले दक्षिण एशियाकै पहिलो निर्वाचित वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीलाई सरल, सादगी र लोकतान्त्रिक नेताका रूपमा स्मरण गरे। उनले वि.सं. २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले पहिलो पटक वृद्धभत्ता सुरु गरेको उल्लेख गर्दै त्यो कदम ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि ऐतिहासिक बनेको बताए।
उनले अहिले १०० रुपैयाँबाट सुरु भएको वृद्धभत्ता ४ हजार रुपैयाँ पुगेको उल्लेख गर्दै ज्येष्ठ नागरिकको जीवनस्तर सुधारमा राज्यले थप ध्यान दिनुपर्ने बताए।
राष्ट्रपतिले पछिल्लो समय सहरीकरण, वैदेशिक रोजगारी र पारिवारिक असमझदारीका कारण धेरै ज्येष्ठ नागरिक अपहेलित हुनुपरेको भन्दै चिन्ता व्यक्त गरे। उनले ज्येष्ठ नागरिकका अनुभव र असल अभ्यासलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्न तथा सक्षम ज्येष्ठ नागरिकलाई उत्पादनमूलक क्षेत्रमा संलग्न गराउन ठोस नीति आवश्यक रहेको बताए।
उनले विपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँगै मनमोहन अधिकारीले नेपाल र भारतको स्वाधीनता आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको पनि स्मरण गरे।
राष्ट्रपति पौडेलले नेपाल पनि बिस्तारै बुढ्यौली समाजतर्फ उन्मुख भइरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सम्मेलनले अन्य देशका सफल अभ्यासबाट सिक्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।
