जनध्वनि
कुआलालम्पुर — मलेसियाको औद्योगिक उत्पादन सूचकाङ्क (IPI) चालु वर्षको पहिलो त्रैमासिकमा ४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा औद्योगिक क्षेत्रमा सुधार देखिएको तथ्याङ्क विभाग (DOSM) ले जनाएको छ।
विभागका अनुसार उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्र ५.७ प्रतिशतले विस्तार भएको छ भने विद्युत क्षेत्रमा ५.२ प्रतिशतको वृद्धि दर्ता भएको छ।
मार्च महिनामा मात्र औद्योगिक उत्पादन सूचकाङ्क ३.१ प्रतिशतले वार्षिक रूपमा बढेको छ, जसमा म्यानुफ्याक्चरिङ क्षेत्रको ५.५ प्रतिशत वृद्धि प्रमुख कारण रहेको बताइएको छ।
मासिक आधारमा हेर्दा पनि उल्लेख्य सुधार देखिएको छ। फेब्रुअरीमा ९.२ प्रतिशतले ऋणात्मक रहेको सूचकाङ्क मार्चमा ९.३ प्रतिशतले सकारात्मक वृद्धिमा पुगेको तथ्याङ्कले देखाएको छ।
यसले मलेसियाको औद्योगिक क्षेत्र क्रमशः पुनरुत्थानतर्फ उन्मुख भइरहेको संकेत गरेको छ।
