बारा — बाराको निजगढस्थित एक होटलमा बास बसेकी २५ वर्षीया युवतीको शंकास्पद मृत्यु भएको छ। निजगढ नगरपालिका–९ बुद्धचोकस्थित गुरुङ होटलको कोठामा घाइते अवस्थामा फेला परेकी निजगढ–१२ की सीता थिङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार वैशाख २५ गते राति करिब १० बजे होटलको कोठाभित्र घाइते अवस्थामा भेटिएकी थिङलाई प्रहरीले तत्काल सामुदायिक अस्पताल प्रसूति गृह पुर्याएको थियो। तर अस्पताल पुग्नेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाका बेला कोठामा निजगढ–९ की १८ वर्षीया अनु सुनार पनि रहेको प्रहरीले जनाएको छ। उनीहरूसँग आएका दुई युवक भने घटनालगत्तै फरार भएका थिए।
फरार रहेका जितपुर सिमरा–१६ का ३५ वर्षीय महेश माझी र ३६ वर्षीय सुनिल बोम्जनलाई प्रहरीले खोजी अभियानपछि पक्राउ गरेको छ। सुनिल बोम्जनलाई जंगल नजिकबाट र महेश माझीलाई निजगढ–७ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
