मध्य अमेरिकी मुलुक कोस्टारिकामा ३९ वर्षीया लाउरा फर्नान्डेजले नयाँ राष्ट्रपतिको रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राजधानी सान जोसस्थित नेशनल स्टेडियममा आयोजित एक विशेष र भव्य समारोहका बीच उहाँले आगामी चार वर्षका लागि राष्ट्रपतिको कार्यभार औपचारिक रूपमा सम्हाल्नुभएको हो। शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति रोड्रिगो चाभेसले फर्नान्डेजलाई राष्ट्रपतीय ओहोदाको प्रतीक स्वरूप ‘स्यास’ हस्तान्तरण गर्नुभएको थियो। उक्त ऐतिहासिक क्षणको साक्षी बन्न विभिन्न देशका विशिष्ट अतिथिहरूका साथै करिब २० हजार सर्वसाधारणको उपस्थिति रहेको थियो।
‘सोभरेन पिपल्स पार्टी’ का तर्फबाट उम्मेदवार बन्नुभएकी फर्नान्डेजले गत फेब्रुअरी १ मा भएको निर्वाचनमा शानदार जित हासिल गर्नुभएको थियो। राजनीतिमा परिपक्व छवि बनाउनुभएकी फर्नान्डेजसँग यसअघि राष्ट्रिय योजना तथा आर्थिक नीति मन्त्री र राष्ट्रपतीय मन्त्रीका रूपमा काम गरेको उच्च अनुभव रहेको छ। उहाँको कार्यकुशलता र प्रशासनिक अनुभवले गर्दा नै मतदाताले उहाँलाई देशको सर्वोच्च पदमा पुर्याएका हुन्।
राष्ट्रपतिको रूपमा आफ्नो पहिलो सम्बोधन गर्दै फर्नान्डेजले देशको सुरक्षा व्यवस्थामा आमूल परिवर्तन ल्याउने सङ्कल्प गर्नुभएको छ। उहाँले आफ्नो सरकारको पहिलो प्राथमिकता अपराध नियन्त्रण हुने र राज्यका विभिन्न निकायहरूमा बढ्दो लागुऔषध तस्करीको प्रभावलाई पूर्ण रूपमा रोक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। सुरक्षा रणनीतिलाई थप मजबुत बनाउन उहाँले मुलुकमा एउटा नयाँ ‘मेगा–जेल’ (विशाल कारागार) निर्माण गर्ने घोषणासमेत गर्नुभएको छ।
सुरक्षा र प्रविधिको क्षेत्रमा नयाँ फड्को मार्ने योजना सुनाउँदै राष्ट्रपति फर्नान्डेजले विश्वकै अत्याधुनिक मध्येको एक प्रहरी निगरानी केन्द्र स्थापना गर्ने लक्ष्य सार्वजनिक गर्नुभएको छ। ३९ वर्षकै उमेरमा सत्ता सम्हाल्नुभएकी उहाँको यो कार्यकालले कोस्टारिकामा सुरक्षा र आर्थिक स्थायित्व ल्याउनेमा आम नागरिकले ठूलो आशा राखेका छन्। सम्बोधनको अन्त्यमा उहाँले सबै पक्षलाई समेटेर राष्ट्रको समुन्नतिमा लाग्ने प्रण गर्नुभयो।
