काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी भएका ७३ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजी गरी प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी फेला परेका यी सवारी साधनहरू धनीको जिम्मा लगाएको हो।
कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार वैशाख महिनामा मात्रै खोजी गरिएका ६५ वटा मोटरसाइकल र स्कुटर आइतबार हस्तान्तरण गरिएको हो। यसअघि नै सोही महिनामा ८ वटा मोटरसाइकल सम्बन्धित धनीले बुझिसकेका थिए। प्रहरीले कार्यालयमा परेका निवेदन र विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा ती सवारी साधनहरूको खोजी कार्य तीव्र पारेको थियो।
खोजीका क्रममा कतिपय सवारी साधनहरू वास्तविक नम्बर प्लेटमै भेटिएका थिए भने कतिपय नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा फेला परेका थिए। एसएसपी अधिकारीले बरामद गरिएका कतिपय बाइकहरू चोरी गरी आपराधिक कार्यमा समेत प्रयोग भएको पाइएको जानकारी दिनुभयो।
सवारी धनीहरूलाई सावधानी अपनाउन आग्रह गर्दै उहाँले भन्नुभयो, “सवारी साधनमा जिपिएस (GPS) जडान गर्ने र सही तथा सुरक्षित स्थानमा पार्किङ गर्ने बानी बसाल्ने हो भने चोरी हुने सम्भावना न्यून हुन्छ। बाइकका अन्य लकिङ सिस्टमहरूलाई पनि ध्यान दिनु जरुरी छ।”
ट्राफिक प्रहरीले सवारी चोरीबाट बच्न थप सुरक्षा उपायहरू अपनाउन र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणमा अपिल गरेको छ। आफ्ना हराएका सवारी साधन फिर्ता पाएपछि सवारी धनीहरूले ट्राफिक प्रहरीको सक्रियताप्रति खुसी व्यक्त गर्दै आभार प्रकट गरेका छन्।
