नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन र सखाप पार्न देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरू ठूलो षडयन्त्र र डिजाइनका साथ सक्रिय रहेको दाबी गर्नुभएको छ। २६ औं निर्मल लामा स्मृति दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो गम्भीर धारणा व्यक्त गर्नुभएको हो।
संयोजक दाहालले अहिलेको चुनौतीलाई स्वीकार गरेर अघि बढ्ने आँट नगरेमा त्यो श्रमजीवी जनताको आकांक्षामाथि ठूलो घात हुने चेतावनी दिनुभयो। उहाँले कम्युनिष्ट आन्दोलनमा देखिएको वर्तमान संकटको सामना गर्न सबैभन्दा पहिले पार्टीहरूले आफैं भित्र निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो। आफ्ना कमजोरीहरूलाई सच्याएर मात्रै कम्युनिष्ट आन्दोलनलाई फेरि नयाँ उचाइमा पुर्याउन सकिने उहाँको तर्क थियो।
सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरू निकै ठूलो डिजाइन अन्तर्गत लागि परेका छन्। यो सत्यलाई स्वीकार गर्न हामीले आँट गरेनौँ भने जानेर वा नजानेर हामीले श्रमजीवी वर्गप्रति घात गरेको ठहर्छ। त्यसैले अहिले समय र परिस्थितिको माग भनेको पहिले आफैलाई समीक्षा गर्ने र सिंगै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरि एकचोटी नयाँ ढंगले अघि बढाउनु हो।”
दाहालले नेपाली जनताले सधैं छरिएका कम्युनिष्ट शक्तिहरूलाई एकतावद्ध भएको हेर्न चाहेको उल्लेख गर्दै एकताको विकल्प नरहेको स्पष्ट पार्नुभयो। उहाँले कम्युनिष्ट पार्टीहरू विभाजित हुँदा त्यसको फाइदा प्रतिगामी शक्तिहरूले उठाउने भएकाले राष्ट्रिय स्वाधिनता र जनताको अधिकार रक्षाका लागि पनि बलियो एकता अनिवार्य रहेको बताउनुभयो। कार्यक्रममा विभिन्न कम्युनिष्ट नेताहरूले निर्मल लामाको योगदानको चर्चा गर्दै वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गरेका थिए।
