काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीबाट प्रहरीले साढे एक किलो चाँदीसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० घर भई हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ पुलबजार बस्दै आएका ३२ वर्षीय राजु स्वेत रहेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सोमबार अपराह्न करिब साढे ३ बजेतिर प्रदेश ३–०२–०१२ प ४३६४ नम्बरको मोटरसाइकलमा नालाबाट च्यामासिंहतर्फ आउँदै गरेका स्वेतलाई प्रहरीले शंकाका आधारमा जाँच गरेको थियो।
जाँचका क्रममा उनले बोकेको झोलाभित्रबाट करिब साढे १ किलो चाँदी बरामद भएको प्रहरीले जनाएको छ। चाँदीसँग सम्बन्धित कुनै आधिकारिक कागजात वा स्रोत खुलाउन नसकेपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको हो।
प्रहरीका सूचना अधिकारी प्रकाश जबेगुका अनुसार बरामद गरिएको चाँदीको स्रोत र उद्देश्यबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका स्वेतलाई हाल प्रहरी वृत्त जगातीमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
