जनध्वनि
काठमाडौँ । अमेरिका पठाइदिने प्रलोभन देखाएर एक युवतीलाई विभिन्न देशमा पुर्याई बन्धक बनाउने, जबरजस्ती करणी गर्ने तथा डेढ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा स्याङ्जाका एक वडाध्यक्ष पक्राउ परेका छन् ।
पक्राउ परेका वडाध्यक्ष शिवबहादुर थापाले ह्वाट्सएपमार्फत युवतीसँग चिनजान बढाएर ६० लाख रुपैयाँमा अमेरिका पठाइदिने विश्वास दिलाएका थिए । त्यसपछि उनले युवतीलाई दुबई, बहराइन, टर्की, ब्राजिल, पेरु हुँदै कोलम्बियासम्म पुर्याएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा युवतीलाई ती देशहरूमा बन्धक बनाएर मानसिक तथा शारीरिक यातना दिइएको खुलेको छ । साथै, जबरजस्ती करणीसमेत गरिएको आरोप लगाइएको छ ।
प्रहरीका अनुसार अन्ततः युवतीलाई मेक्सिकोको सीमाक्षेत्रमा अलपत्र अवस्थामा छाडिएको थियो । घटनापछि पीडित परिवारको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको र आरोपीलाई पक्राउ गरिएको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
