काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्तरमा पहिलो पटक प्रविधिमा आधारित ‘ह्याकाथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुटवलस्थित प्रहरी तालिम केन्द्रमा आगामी ३०–३१ जेठमा ३६ घण्टे ‘Hack for Safety’ कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
सरकारी निकायबाट नेपालमै पहिलो पटक आयोजना हुन लागेको यस कार्यक्रमले प्रविधिको प्रयोगमार्फत सार्वजनिक सुरक्षा सुदृढ बनाउने र प्रहरी–नागरिकबीचको विश्वास अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
प्रहरी निरीक्षक उज्ज्वल खड्काका अनुसार शान्ति–सुरक्षा कायम राख्ने जिम्मेवारी केवल प्रहरीको मात्र नभई नागरिकको पनि साझा दायित्व हो । उनले भने, “प्रविधिका माध्यमबाट प्रहरी र जनतालाई अझ नजिक ल्याउन हामीले यो पहल गरेका हौँ।”
यस प्रतियोगितामा देशभरका डेभलपर, प्रोग्रामर तथा प्रविधिमा रुचि राख्ने जोकोहीले निःशुल्क सहभागिता जनाउन सक्नेछन् । सहभागीहरू ३–४ जनाको समूहमा प्रतिस्पर्धा गर्नुपर्नेछ भने व्यक्तिगत रूपमा दर्ता गर्नेहरूलाई पनि समूह बनाइने व्यवस्था गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई १ लाख रुपैयाँ नगद पुरस्कार र सरकारी प्रमाणपत्र प्रदान गरिनेछ । साथै उत्कृष्ट परियोजनालाई लुम्बिनी प्रदेश प्रहरीसँग थप सहकार्य गर्ने अवसर समेत प्राप्त हुनेछ ।
कार्यक्रम पूर्ण रूपमा भौतिक उपस्थितिमा हुनेछ । आयोजकले कार्यस्थल, खाना र खाजाको व्यवस्था गर्नेछ भने सहभागीले ल्यापटप र आवश्यक उपकरण आफैं ल्याउनुपर्नेछ ।
करिब २०–२५ टोली छनोट गर्ने तयारी गरिएको छ । कार्यक्रममा साइबर ब्युरो र प्रहरी प्रधान कार्यालयका विज्ञहरूले मेन्टरको भूमिका निर्वाह गर्नेछन् ।
दर्ता प्रक्रिया आगामी ३–४ दिनभित्र आधिकारिक लिङ्कमार्फत खुलाइने र विस्तृत तालिका तथा निर्णायक मण्डलको विवरण पनि सार्वजनिक गरिनेछ ।
